Khagindra Khusi

♥♥♥

Khagindra Khusi

♥♥♥

Khagindra Khusi

♥♥♥

Khagindra Khusi

♥♥♥

Khagindra Khusi

♥♥♥

खुशीका रचना स्तम्भमा हार्दिक स्वगत गर्दछु।

Tuesday, April 26, 2016

खुशीको ‘कथा’लाई सलाम - भवानी क्षेत्री

धेरै लेखिए नारीलाई बिषय बनाएर नेपाली साहित्यमा कथा,कविता र गीत गजलहरू । ठूलाठूला उपन्यास लेखिए नारी रुप र सौदर्यलाई आधार बनाएर । लगनशीलता र सहनशीलता नारीका गहना हुन् भन्दै इज्जत जोगाउने ठेक्का दिइयो स्त्री जातिलाई । र, यी सबै कुरा साहित्य मार्फत समाजमा आए ।
परिणाम सुन्दरताको परिभाषा नै बदलियो । एउटा पुरुष सुन्दर हुन कोट पेन्ट, जुत्ता मोजा लगाउँछ । हामी नारीहरू छोटा लुगा लगाउनुलाई आफू सुन्दर हुनु ठान्छौँ । पुरुषहरू बल, बुद्धि र साहसलाई श्रृङ्गार ठान्छन् । हामी नारी आवरण सिगार्नुलाई सुन्दर हुनु ठान्छौँ । तर यसमा दोष नारीको होइन । शिक्षा र समाजको दोष हो ।
हामीले सिर्जना गरेका साहित्यको दोष हो । खगिन्द्राका कथाहरू पढेपछि लाग्छ नारीहरूलाई जरैदेखि दह्रो बनाउन यस्ता कथाहरू लेखिनु पर्ने थियो हिजैदेखि ।
उनको पहिलो कथा ‘आमाको डायरी’मा जुन बिषय उठान भएको छ, त्यो नारीलाई मजबुत बनाउने बिषय हो । उनको कथा प्रस्तुतिको शैली पनि राम्रो लागेको छ मलाई । पुस्तककै नाम भएको शीर्षकको कथा आमालाई बिषय बनाएर कथाहरू लेखिएको भए पनि खुसीको शैली नयाँ लाग्यो मलाई । डायरीका रुपमा आमाले आफ्नो कथा व्यक्त गरेकी छन् र त्यो आफ्नै छोराले पढेको छ । खगिन्द्रा दह्री लाग्थिन् मलाई, कथाहरू पढे पछि झन् दह्री लागिन् ।
दोस्रो कथा ‘चियाबारीकी दिदी’ सम्भवत यो सङ्ग्रहभित्रको सबैभन्दा सुन्दर कथा हो । नारी मान्छे हुन नपाएको र चियाको बोट बोट हुन नपाएको कुरालाई मसिनो ढङ्गले केलाएकी छन् लेखकले । बोनसाइ गरिएका बोट बिरुवा र नारी उस्तैगरी बनेको बिषय बडो मिठोगरी प्रस्तुत भएको छ ।
‘घातको उपज–नयाँ जीवन शैली’ कथामा बिदेशिएको लोग्नेले दिएको धोकालाई बिषय बनाइएको छ । यो बिषय बर्तमानमा बिकराल समस्या बनेको छ । बर्तमानमा नेपाली नारीले भोगिरहेको दुःखद् पक्ष हो । बिषय समसामयिक छ, कथा मन छुने छ ।
लेखकले ध्यान दिनु पर्ने थोरै कुरा छ यसमा । पछि धोका हुन्छ भन्ने कुरा अगाडि नै खुल्छ । यसरी नखुल्दा अझ सुन्दर हुने थियो कथा । पाठकमा अगाडि पढ्ने उत्सुकता जगाउनु कथा सफल हुनु हो लाग्छ मलाई । तर धेरै कथाहरू पढ्दा कथाको अन्त्य कसरी होला भनेर अन्दाज लगाउन सकिदैन र यो एकदमै सवल र सुन्दर पक्ष हो भन्ने ठाने ।
‘शान्ति’ कथामा भुटानी शरणार्थी र भारतकी केरलाबाट नेपाल अएकी श्रमिकको कथा सुन्दर ढङ्गले प्रस्तुत गरेकी छन् । यो कथा पढ्न सुरु गर्दा लाग्छ ‘आमाको डायरी’ कै कथा अघि बढ्दै छ । तर यो कथा बेग्लै बिषय बोकेर आएको हुन्छ । मन छुन्छ यो कथाले उस्तै गरी ।
सहयोग र प्रेमको जाल थापेर फसाउँछ पुरुष पात्र शरणले नारी पात्र शान्तिलाई र उपहारमा एउटी छोरी थपिदिएर अमेरिका उड्छ । केही समय सहयोग पनि गर्छ उसले । यो कथामा पनि नारी शोषित हुन्छे, तर दोषी ठान्दिन शरणलाई ।
‘मेरो बलात्कृत नारीबाद’ शीर्षकको कथा भित्र शोषणको नयाँ रुप देखाएकी छन् लेखकले । ‘प्रेम र पारिजात’ कथा एउटी स्वाभिमानी केटीको शालिन प्रेम कथाका रुपमा आएको छ । तीलाको स्वाभिमान उच्चकोटीको छ । माछा देखे दुला हात, सर्प देखे पाखा हात गरेकी छैन उसले । असहज परिस्थितिमा लिएको निर्णय परिस्थिति सहज भएपछि पनि परिवर्तन गर्दिन उ । यो चाहिँ सिक्नु पर्ने पाठ हो प्रेम गर्नेहरूले ।
एउटी मानसिक रुपमै आँटीली र हिम्मतिली केटीको प्रेम कथा हो ‘रातो गाडी’ शीर्षकको कथा । प्रेममा धोका खाँदा आत्महत्या गर्ने धेरै केटीहरूको निम्ति गतिलो शिक्षा हुन सक्छ, आँट र जीवन ज्युँन पुग्ने खुराक हुन सक्छ यो कथा ।
‘स्टाटससँगै डिलिट भएको प्रेम’ नामको कथा अलि कठोर छ । यो कथालाई मिलन बिन्दुमा अवतरण गराउन पथ्र्यो भन्ने लाग्यो मलाई । यति कठोरता हँुदाहुँदै पनि एक्लै बाँच्ने अठोटलाई भने प्रशंसा गर्न मन लाग्छ ।
बैदेशिक रोजगारीले बर्तमानमा भित्र्याउँदै गरेको बिकराल समस्याको समाधानका रुपमा लेखिएको लाग्यो ‘उज्यालो आकाश’ । गल्ती दुबैतर्फ हुने तर सजाय एउटाले मात्र पाउने गरेको सामाजिक कानून प्रणालीलाई शिक्षा र सबक दुबै हो यो कथा । स्यावास र सजाय बराबरी हुनु पर्छ भन्ने यो कथाको उद्देश्य हो भन्ने लाग्छ ।
नारीले गरेको दुःखको फल पुरुषले मात्र खाने अथवा लोग्ने स्वास्नी मिलेर कमाउने सम्पूर्ण हक चाहिँ लोग्नेको मात्र लाग्ने कुराको बिरोधमा लेखिएको कथा हो ‘यो घर मेरो पनि हो’ ।
स्वास्नीले आफुले कमाएको सम्पत्ति लोग्नेबाट अंशमा लिन पर्ने बाध्यता छ यो देशमा । जति नै दुःख गरे पनि अझ आफैले मात्र काम गरेर धन सम्पत्ति जोडे पनि त्यो सारा सम्पत्ति लोग्ने कै मात्र हुने कानुन परिवर्तन हुन पर्छ । र, व्यावहारिक हुन जरुरी छ भन्ने सन्देश यो कथाले दिन्छ ।
सन्तान नहुनुमा वा, छोरी र छोरा हुनुमा पुरुषको हात हुन्छ । दोष भए पनि पुरुषकै बढी दोष हुन्छ । समाजमा भने यी सारा दोष नारीलाई लगाइन्छ । दोष बोकेरै रुँदै जीवन बिताएका छन् थुप्रै नारी । तर ‘बाँझो धरती’की पात्र धरालाई यो मन्जुर छैन । स्वीकार्दिन ऊ बीर्य बिना हराभरा हँुदैन नारी जीवन भन्ने कुरालाई । अनावश्यक बन्धन खोल्न खोजेको छ यो कथाले ।
‘ज्यामद्वार’ लोकोक्तिमा आधारित छ । भर्खर बस्ती बस्तै गरेको जङ्गल युगको कथामा पनि नारी पात्रहरू दर्बिला छन् । तीन नारी र एक पुरुष पात्र भएको यो कथामा पनि हिम्मतका साथ जीवनको उज्यालो तर्फ नै उक्लेका छन् नारी पात्रहरू ।
केही सामन्य त्रुटीहरू पनि छन् सङ्ग्रहमा । ‘आफ्नो कुरा’ मै नामहरू दोहोरिएका छन् । त्यस्तो नहँुदा राम्रो हुने थियो । कथाका मूल पात्रहरूको नाम पनि दोहोरिएको छ । केहि ठाउँमा नराख्दा पनि हुने शब्द र वाक्यहरू छन् । केही ठाउँमा ती वाक्य नराख्दा अझ् राम्रो हुने पनि देखिन्छ । ‘चियाको बुटा’को कुरा ‘मेरो बलात्कृत नारीवाद’मा पनि आउँछ । जवकि तिनै कुरा ‘चियाबारीकी दिदी’मा आइसकेको हुन्छ । तर यी सामान्य त्रुटि हुन् ।
सारमा कथाहरू चोटीला छन्, साहसिला छन्, परम्परागत कथा भन्दा भिन्न छन् । एक से एक अझ कतिपय ठाउँमा पत्याउनै नसक्ने गरी हिम्मत भएका पात्रहरूले रोचक बनाएका छन् कथालाई । कथाहरूमा लाचार कठपुतली पात्र कतै भेटिदैनन् ।
समाजमा नारीहरूले भोग्नु परेका दुःख, धोखा, जाल झेलकै बिषयमा कथाहरू बनेका छन् । तर खुसीका पात्रहरू बिष खाँदैनन्, पासोमा झुण्डिदैनन् अथवा आत्महत्या गर्दैनन्, बौलाउँदैनन्, डिप्रेसनमा जाँदैनन, अत्तालिदैनन्, अव्यावहारिक हुँदैनन्, दयाको भिख माग्दैनन्, हरेस खाँदैनन् । बरु घटनाहरूलाई सहज मानिदिन्छन् ।
जसरी रात पर्नु र सूर्य उदाउनु स्वाभाविक हो, त्यसरीनै जीवनमा दुःख सुख आउनु पनि स्वाभाविक हो को शैलीमा अपनाउँछन् घटनाहरूलाई । बडो सहज ढङ्गले समस्याहरूसँग लड्छन् । कथाको मूल सन्देश पनि यही हो भन्ने लाग्छ मलाई ।
साँचो अर्थमा नारीबादी कथा हुन् यी । नारीलाई पूर्ण मानिस बोध गराउँदै लेखिएका जीवनबादी कथा हुन् यी र यही जग माथि उभ्याउन पर्छ अबको समाजलाई ।
समाजको नारीलाई हेर्ने दृष्टि परिवर्तन गर्न यस्ता कथाहरू लेखिनु पर्छ । अनि मात्र यो समाज साङ्ग बन्ने छ । र, यी कथाहरू खगिन्द्राहरूले नै लेख्नु पर्छ । अथवा नारीहरूले नै लेख्नु पर्छ । बधाई र शुभकामना खुसीलाई ।
‘आमाको डायरी’ भित्रका मन परेका केही हरफहरू
१. श्रीमान र परिवारको खुसीलाई नै आफ्नो खुसी मान्दा रहेछौँ हामी महिलाहरू ।
२. मान्छेका टाउकाभित्र रहेको एकमुठी चेतना र विवेक बस्ने भाडो निकालेर तिनै पशुका टाउका भित्र राखिदिन मन लाग्छ ।
३ मानसिक र शारीरिक दुबै रुपमा नारीको अग्लाई र मोटाइ मन पराउँदैन समाज ।
लेखक भन्छिन्
पजबनष्लमचबनेपाली समाज पहिलाको भन्दा परिवर्तन त भएको छ, तर महिलालाई दुःख दिने, महिलालाई शोषण गर्ने तरिका पनि सँगसँगै परिवर्तन भएर आएको छ । सङ्घर्ष गरेर भए पनि स्वतन्त्र र स्वाभिमानी जीवन बाँच्न प्रयत्नशील महिलाहरू जो विभिन्न बहानामा नयाँ तरिकाबाट शोषित पीडित भइरहेका छन् । विशेष गरेर तिनै कुराहरूले मेरो मन छोए र तिनै विषयलाई कथाहरूमा समेट्ने कोशिस गरेकी छु ।
महिलाहरूको चरित्र, पीडा, बेदना, सङ्घर्ष र सफलताका कुराहरूका साथै महिलाहरूका यौन कुण्ठा, यौन दुराचार र दूव्र्यवहारका कुराहरू नै कथाका विषय बनेका छन् । त्यही विषयले मेरा कथाहरूलाई पृथकता दिएको छ भन्ने मेरो अनुमान छ । तर कथालाई पृथक बनाउनका लागि मात्र नभएर समय अनुसार उठाउनु पर्ने विषय भएकाले पनि यस्ता विषय र घटनालाई कथाबाट उठाएकी हुँ ।
कथामा यौन मनोविज्ञानका विषयहरूले आफैलाई चुनौती दिइरहेको जस्तो लागिरहेको छ । त्यसैले नेपाली साहित्यका पाठकहरूले विचारको व्यापकताका साथ यस सङ्ग्रहलाई अध्ययन गरिदिउन् भन्ने आशा छ ।
चूडामणि रेग्मी
अजगमबmबलष्एउटी बहिनी हाम्रो साहित्यिक गतिविधिकी सहभागी हेर्दा हेर्दे गायक मात्र होइन, सञ्चारकर्मी मात्र होइन, एउटा नपत्याउँदो ढङ्गले कथाकारको रुपमा एकाएक जस्तो एक दर्जन जति कथा लिएर देखा परिन् । यी कथाकार कसरी कथाकार भइन् रु यी मान्छेले आफ्ना पेटभित्र सुमद्रभित्र माछा झैँ कति कथा खाँदेका रहेछन् र अहिले एकाएक ती कथा बाहिर निस्किए ।
कृष्ण धरावासी
समकालिनाता सँग जोडिएको समाजको चित्र उतारिएको कथा पाठकलाई आफ्नो हो जस्तो लाग्छ । पछिल्लो कालमा लेखिँदै आएका कथाहरूले जीवनका सङ्व्रmमणलाई बढी छुने गरेका छन् । खगिन्द्रा खुसी मूलतः एक राम्रो छन्दवादी कवि हुन् , तर उनले आफ्नो अतिरिक्त आख्यान क्षमतालाई पनि कथाहरूमा प्रस्तुत गरेकी छन् । झापाली कथायात्रामा खगिन्द्राका यी कथा सामाजिक द्वन्द्वका विम्व पनि बनेका छन्। 

क्याम्पसको स्वायत्तताको सोच र मेरो यात्रा

उ ! निगुरो आएछ ।
हो ! डौठे निगुरो आएछ, आउन थालेछ ।
पाहाडमा आएको डौंठे निगुरो र मालिङ्गोमा दही लगाएको तरकारी........!
मेरो घरको छेउमा बाँस छ । त्यसको तामा काटेर २,३ दिन फ्रिजमा राखेर खाँदा मालिङ्गोको तिर्सना मेटाउँछ । सानामा खाएको मालिङ्गो र डौठे निगुरोको शव्जीको स्वाद अझै किलकिलेमै छ ।
हैन हौ सर, स्वाद त जीव्रोमा पो हुन्छ त कहाँको किलकिलेमा स्वाद हुन्छ ?
हा हा हा हा हा..................
यो संवाद कुनै फिल्मको हैन, नाटकको पनि हैन, न कथाको हो, न त उपन्यासको । यो त एउटा यात्रामा गाडीभित्र भएको यथार्थ संवाद हो । प्रसङ्ग २०७२ साल श्रावण २४ गतेको दिनमा भएको यात्राको हो । मेरो विहान ६ बजेदेखि यात्रा सुरुभयो । घरबाट निस्कँदा निस्कँदै लेखनाथ चोकमा बसले हर्न लगायो । हिँड्दा मात्रै बस भेट्न नसक्ने बुझेर दौडन थालें । धन्न पिच सम्म आइ पुग्दा नपुग्दै गार्मेन्टचोक तिरबाट आउँदै गरेको रिक्सा भेटें । त्यसमै चढेर रिक्सावाला दाईलाई हतार लगाएँ र मात्रै समयमै बस भेट्न सकें । बसमा चढ्ने बित्तिकै बस पनि हिंढीहाल्यो । समयमै गन्तव्य पुग्ने भएँ भनेर ढुक्क भएं तर ढुक्क भएको पनि व्यर्थै भयो । चाराली बिर्तामोड हुँदै बिराटनगर जाने गाडीमा चढेकी थिएँ लक्ष्मी चौक पुगेर गाडी नै बिरामी भयो । हिंड्नै नसक्ने भयो ।  एकछिन बाटो हेरे पनि बन्नका लागि समय लाग्ने देखेर बसबाट बाहिर निस्कीएँ । चाराली सम्म पुग्नको लागि बाइकवालाको सहयोग लिनु पर्यो । एकजना चन्द्रगढीकै मान्छे बुधबारेका कर्मचारीको सहयोगमा चाराली पुगें । चारालीबाट बिर्तामोड सम्म बसमा जानुपर्ने थियो तर इलाम जाने ट्याक्सी नै भेटें र त्यसमै चढेर बिर्तामोड बसपार्क सम्म पुगें । त्यो ट्याक्सी पनि बिरामी रहेछ, त्यसैले अर्को ट्याक्सीको अगाडीको झ्यालपटीको सीट रिजर्व गरें । म सँग नागरिकताको प्रतिलिपि बनाउनका लागि हिंडेकी धुलाबारीकी मेरै उमेरकी जस्तीलाग्ने साथी बसिन् अनि सुरु भयो बिर्तामोड देखि इलाम सम्मको यात्रा ।
    झापामा बिहान घाम नझुल्कँदै देखि नै गर्मीले पसिना निकालीरहेको थियो । त्यसैले छिटो भन्दा छिटो इलामको चिसो भेट्न हतारिएका थियौं हामी । तर साढे सात बजे नै स्टेशनबाट हिंडे पनि पेसिन्जरका नाममा हामी दुईजना मात्र भएकोले पेसिन्जर पर्खिएर ओर मूल बाटामा आएर आधाघण्टा बस्यो गाडी । बल्ल अरु दुईजना पेसिन्जर थपिएपछि मात्र आठ बजे इलामतिर फर्कियो गाडी । चार जना पेसिन्जर लिएर इलाम प्रवेश ग¥यो गाडी । विर्तामोड देखि लगभग एक घण्टा पनि गाडी गुड्न नपाउँदै चिसो सुरु भयो । बाक्लो हुस्सुले बाटो छेकेर गाडी कुदाउनै नसक्ने भयो । पछाडी बसेका पेसिन्जरले त गाडी रोक्न अनुरोध गरिरहेका थिए तर हुस्सु भित्र हुर्केका ड्राइभर गाडी रोक्न तयार भएनन् । कुहिरोभित्र हराउँदै निस्कँदै फिक्कल पुग्यौं हामी । फिक्कलमा धेरैबेर गाडी रोकेर अहिले सम्म खाली रहेको गाडीबाट पोखिने गरी मान्छे भरे ड्राइभरले । भरी गाडी लिएर ढुक्क मनले इलाम सम्मको यात्रा गराए उनले । ती ड्राइभरलाई धन्यबाद !
    महेन्द्र रत्न बहुमुखी क्याम्पस ईलाम मैले बि.एड. अध्ययन गरेको क्याम्पस हो । आजको मेरो गन्तव्य पनि त्यहीं थियो । फर्म भर्नु थियो मैले, त्यसकै लागि हिंडेकी थिएँ म । इलाम बसपार्कबाट सिंडी चढ्दै चियाबारीको बाटो हुँदै म.र.ब. क्याम्पस पुगें म । मैले पढेको क्याम्पसले स्वागत गरे झैं लाग्यो मलाई । हरियाली बिचको क्याम्पस, फुलबारीहरु बीचको क्याम्पसको सुन्दरता नियाल्दै म लाईव्रेरीमा पुगें । मैले टिका निरौला सरलाई भेट्नुथियो । उहाँलाई भेट्ने ठाउँ नै लाइव्रेरी थियो । टिका सरलाई त्यहीं भेटें । मेरो फर्म भर्ने काम पुरा भयो । मेरो गन्तव्य त्यहीं थियो, मेरो गन्तव्यको उद्देश्य पनि त्यति नै थियो । अब पुनः झापा नै फिर्नु थियो मैले । टिका सरसँग बिदा मागें, उहाँले भन्नु भयो मेची बहुमुखी क्याम्पसबाट उमानाथ ओली लगायत अरु सरहरु आउनुभएको छ, उहाँहरु सँग जान्छौ ? मैले नाइ नास्ति गर्ने कुरै थिएन । आफ्नै छिमेकी विद्वान गुरुहरु सँग घर फिर्न पाएकी थिएँ मैले । टिका सर सँगै लाईब्रेरीबाट तल झरें । उहाँ मिटिङ स्थल तर्फ जानु भयो म बाहिर बसें । एकैछिनमा मिटिङ स्थलतर्फबाट एकहुल गुरुहरु निस्कनुभयो । महेन्द्र रत्न बहुमुखी क्याम्पस ईलामका र मेची बहुुमुखी क्याम्पस भद्रपुरका गुरुहरु एकसाथ देख्दा धेरै खुसी लाग्यो । सबै भन्दा पहिला कमल गुरागाई सरलाई देखें, त्यसपछि हेम राज प्रसाईं, चित्र बहादुर श्रेष्ठ, होम सिटौला, अरुण भट्टराई सरलाई देखें । मैले गरेको नमस्कारमा हात जोड्दै सबै गुरुहरु क्याम्पस परिसर भ्रमणमा निस्कनु भयो । उमानाथ ओलीसरलाई भने निकैबेर पछि क्याम्पस परिसर भ्रमण गरेर आएपछि मात्र देखें ।
    मेची र म.र. बहुमुखी क्याम्पसको संयुक्त समुह सँग पुनः इलाम बस पार्क पुगें म । त्यहाँको तमु होटलमा खाना खाने व्यवस्था मिलाइएको रहेछ । मैले पनि खाना खाएकी थिइन । गुरुहरुको हुलमा तमु होटलको मिठो खाना खाइयो । भात, दाल, गुन्द्रुको अचार, काँक्रोमा दही र सिलाम लगाएको अचार, स्कुसको मुन्टा र आलुको शब्जी, मासु खानेलाई खसीको मासु नखानेलाई पनिरको सव्जी थियो मासु नखानेमा कमल गुरागाई सर र म परेछौं । साथमा पापड, काँक्रोको सलाद, दही र खुर्सानी सहितको मीठो खाना खाएर होटलबाट बाहिरियौं । हामीले खाना खाए पनि ड्राइभरले खान बाँकी रहेछ  । ड्राइभरले खाना खाउन्जेलको समयलाई सदुपयोग गर्दै सबैले किनमेल गर्याैं । छुर्पी, चिया, ललिपप, काँक्रा जस्ता कोशेलीहरु सबैले किनेर बाँकी किन्नु पर्नेकुरा बाटामा किन्दै जाने सल्लाह गर्दै दिनको दुई बजे इलाम बसपार्कबाट झापा तिरको यात्रा सुरु भयो । अरुण भट्टराई सर अघि नै जिरो पोइन्टमा भएका आफ्ना दिदी भिनाजुको घरमा आएर बस्नु भएको रहेछ । जिरो पोइन्टकै छेउमा भएको उहाँको दिदी भिनाजुकै घरमा गयो गाडी । भिनाजुलाई लिएर आँगनमा आउनु भयो उहाँ र म बाहेक सबै सँग चिनजान गराउनु भयो उहाँले । त्यतिन्जेल अरुण भट्टराई सर सँग मेरो चिनजान भएको थिएन । त्यही भएर पनि त्यो चिनजान कार्यक्रममा म छुटेकी थिएँ । तर गाडीमा चढेपछि चिनजान भयो । उहाँ भट्टराई हुनुहुँदो रहेछ, मेरा मावली पनि भट्टराई भएका कारण उहाँ सँग मामा भान्जीको साइनो गाँसियो । बोलीरहने, हँसाईरहने ठुलो स्वरका अरुण भट्टराई नै त्यो यात्रालाई रमाइलो बनाउने प्रमुख पात्र हुनुभएको मैले महसुस गरें ।
    मेची बहुमुखी क्याम्पसका प्रमुख उमानाथ ओली, मेची बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा क्याम्पस कार्य समितिका सदस्य चित्र बहादुर श्रेष्ठ, क्याम्पस कार्य समितिका सदस्य अरुण भट्टराई, सह–प्राध्यापक कमल गुरागाईं, उप–प्राध्यापक होम सिटौला र शाखा अधिकृत हेमराज प्रसाईं र म सहित सात जनाको झापा सम्मको यात्रा इलामको जिरो किलोमिटरबाट २ः५ बजे सुरु भयो । इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पस चार पाँच बर्ष अगाडि देखि स्वायत्ततामा गई सन्चालन भैरहेको छ । मेची बहुुमुखी क्याम्पसलाई पनि त्यस्तै गरी सन्चालन गर्ने ईच्छाले स्वायत्तता सम्बन्धि व्यवस्थाको बारेमा बुझ्नका लागि ईलाम पुगेको मेची क्याम्पसका गुरुहरुसँगको यात्रा साँच्चै ऐतिहासिक रहेको महसुस गरेकी छु मैले । मैले मेची बहमुखी क्याम्पसमा पढ्न पाइन, यहाँका गुरुहरुबाट कक्षामा बसेर औपचारिक रुपमा शिक्षा लिन पाइन, तर पनि अनौपचारिक रुपमा यिनै गुरुहरुबाट धेरै शिक्षा पाएकी छु मैले, जीवन दर्शनका कुराहरु सुनेकी छु, जाने बुझेकी छु । आज तिनै क्याम्पसमा सधैं औपचारिक रुपमा प्रस्तुत हुने गुरुहरुको अनौपचारिक गफ सुन्ने मौका पाएकी थिएँ । सुरुबाटै कमल सर र अरुण सरको रमाइलो भनाभन सुरु भयो । भाषा र व्याकरणमा कट्टर कमल गुरागाई सर र भाषामा  व्याकराणको परिधि भन्दा बाहिर रहन चाहने कमर्श र इङ्गिलिस पक्षका अरुण सरका बिचमा धेरै भनाभन भए र तिनै भनाभनले यात्रालाई रमाइलो बनायो । यात्रालाई रमाइलो बनाउने मुख्य पात्र उहाँहरु दुईजना नै बन्नु भयो भने सहयोगी पात्रका रुपमा हामी सबै थियौं ।
    ठाउँ ठाउँमा काँक्रा, नासपाती, टमटर र स्कुसको मुन्टा किन्दै आउने क्रममा एकठाउँ अरुण सरले “स्कुसको साग कसरी रहेछ ?” भन्नु भयो । कमल सरले गल्ती पकडीहाल्नु भयो । स्कुसको साग हुँदैन सर ! स्कुस, फर्सी, घिरौंलाको मुन्टा हुन्छ, रायो तोरी मुलाको साग हुन्छ” भन्नुभयो त्यहाँ पनि एक पटक सबैले हाँस्ने मौका पायौं । तर अरुण सरले पनि गल्ती भन्नु भएको रहेनछ । अरुण सर प्रणामी सम्प्रदायका भएकाले मुन्टा भन्नु नहुनेहुँदा साग भन्नु भएको रहेछ । त्यही ठाउँमा मैले पनि दुईमुठा स्कुसको साग र तीन के.जी.नासपाती किनें ललिपप ईलम बजारमै किनेकी थिएँ । सबैले नासपाती, स्कुसको मुन्टा, काँक्रा किन्यौं । त्यसपछि आएको तिनघरेको बजारमा निगुरो देखे पछि सुरुभएको सम्वाद माथी यो लेखको सुरुमा राखि सकेकी छु । सुर्योदय नगरपालिकामा पर्ने “कन्याम इन” होटलमा बसेर कफी पियौं । कमल सर, उमानाथ सर र हेमराज सरले ब्ल्याक कफी र अरुले मिल्क कफी पियौं र पुनः यात्रारम्भ गर्याैं । तर त्यहाँ भन्दा अलिकति मात्रै अगाडिको बजारबाट कमलसरले आलु ल्याउनु रहेछ । आफ्ना बहिनी ज्वाईंले राखिदिएको आलु ल्याउनु पर्ने भए तापनि उहाँहरु घरमा नभएको कारणले उहाँहरुले राखिदिएकै आलु त ल्याउन पाउन भएन तर उहाँ लगायत अरुले पनि त्यहाँको दोकानबाट किनेर एक एक बोरा आलु ल्याउनु भयो । त्यहाँ निकैबेर अलमल भयो । त्यहाँ नजिकैको कपडा पसलमा बसेर रामायणको किताब पढ्दै गरेका हजुरबालाई देखेर निकै भावुक भएँ म । धेरै बेर लगाएर एउटा एउटा अक्षर गर्दै रामायण पढ्न सुरु गर्नु भएको थियो उहाँले । यसरी पढेर कहिले सक्नु हुँदो हो त्यत्रो ठुलो किताब? उहाँको दृढ ईच्छा शक्ति र धैर्यता देखेर उहाँलाई सलाम गरें मनले र उहाँले थाहै नपाई दुईवटा फोटो खिचें र घरमा आएर फेसबुकमा लगाएँ ।
    हामी झापा प्रवेश गर्दा साँझ पर्न लागि सकेको थियो । कमल सरको घर शनिश्चरे भएको र उहाँसँग एकबोरा आलु भएको कारणले उहाँलाई घरसम्मै पुर्याईदिने कुरा भयो । बुधबारेबाट जयपुरको बाटो हुँदै शनिश्चरे तर्फ लाग्यौं हामी । जयपुर चोक देखि अलिकति भित्र पटि चित्र बहादुर श्रेष्ठ सरको पुरानो घर रहेछ, चित्र सरले हातको ईसाराले उहाँको घर भएको ठाउँ देखाउनु भयो । त्यहाँ भन्दा अलि तल शनिश्चरेको नजिकै वकिल चित्र बहादुर को घर रहेछ । उहाँको छोरोको मृत्यु भएको कुरा थाहा थिएन मलाई । पानीमा डुवेर मृत्यु भएको कुरा त्यहीं पुगेर थाहा पाएँ मैले । दुइ तिन दिन अघि मात्र चिन जान भएको थियो चित्र बहादुर सर सँग मेरो । मेरो पसलमा वकिल लक्ष्मी खनाल, वकिल राजेन्द्र खनाल र उहाँ आउनु भएर चिया खाँदै निकैवेर गफ गरेर जनु भएको थियो । आज उहाँलाई त्यत्रो ठुलो शोक परेको सुन्दा दुःख लाग्यो ।
    अर्जुनधारा मन्दिर भन्दा थोरै पश्चिमपटि रहेको कमलसरको घरको आँगनमा आलुको बोरा र काँक्रा नासपातीहरु झारेर उहाँलाई घरमा छोडेर बिर्तामोड तिर लाग्यौं । गुरुआमाको केही खाएर जाने आग्रहलाई समयको अभावमा मान्न सकेनौं । कमल सरले खुर्सानी चाही झार्न बिर्सनु भएछ । त्यो विर्तामोडको कृषि बजारतिरको लाइनमा रहेको होम सिटौला सरको घर अगाडी गाडी रोकेर उहाँका सामान ओराल्ने क्रममा मात्रै थाहा भयो र त्यो खुर्सानी पनि होमसरले नै राखिदिनु भयो । हामी बिर्तामोडबाट ओरालो झर्याैं । शैनिक बजार देखि पश्चिम पटि उमानाथ ओली सरको घर रहेछ । शैनिक बजार देखि उहाँको घर सम्म जाने बाटाका बाँसघारीहरुमा चराचुरुङ्गीहरु बास बस्ने बेलाको हल्ला गर्दै थिए । मनमनमा हतार लागिरहेको थियो घर पुग्नलाई । बाटाका पानी नपरेर बाँझा रहेका खेतका ठुला ठुला प्लटहरु देखाउँदै उमासरले उहाँको घर पुर्याउनु भयो हामीलाई । त्यहाँ पुगेर उहाँको सामान झारेर त्यहाँबाट पनि विदा भयौं । अब ओर्लिने पालो मेरो थियो । शैनिक देखि चन्द्रगढी लेखनाथ चोक सम्म ओर्लने कोही थिएन । ड्राइभर दाइले एकैछिनमा लेखनाथ चोक पुर्याएर मेरा लागि गाडी रोकिदिए । म आफ्ना सामान हातमा बोकेर गाडीबाट उत्रिएँ र सबैलाई बाई गर्दै त्यहाँबाट बिदा भएँ । मनमनै मेची क्याम्पसका गुरुहरुको स्वायत्त प्रक्रियाबाट क्याम्पस सन्चालन गर्ने सोचलाई धन्यबाद दिँदै, आजको रमाइलो, सुखपूर्ण र ऐतिहासिक यात्राको संस्मरण लेख्ने अठोटका साथ घर पुगें ।