Khagindra Khusi

♥♥♥

Khagindra Khusi

♥♥♥

Khagindra Khusi

♥♥♥

Khagindra Khusi

♥♥♥

Khagindra Khusi

♥♥♥

खुशीका रचना स्तम्भमा हार्दिक स्वगत गर्दछु।

Monday, May 16, 2016

खगिन्द्रा खुसी-गजल


गजल

जव सुसेल्दछ गीत वतासले।
जव उकेल्दछ शीत अकाशले।

अनि त आउँछ रङ्ग हजार ली,
शरद जग्मग रीत प्रकाशले।

घरघरै भगवान म देख्दछु,
सुन न आशिष गीत झकासले।

सफलता सुखको शुभकामना,
छ विजयादशमी यस खासले।

सपना-मन्दाक्रान्ता

सपना

झुक्दै थें यो बगर बिचमा औंठि गुड्दै थियो रे।
टिप्दै थें त्यो पवन गतिमा लाज बग्दै थियो रे।
हे¥यौ तिम्रो नजर छ कडा प्यास उन्माद छर्ने,
पानी झैं भो तन सरमले श्वास बढ्दै थियो रे।

छाती मेरो ढुकढुक भयो फर्किएँ लौ पछाडि,
तान्दै चुन्नी सुन अब यता फर्क भन्दै थियौ रे।
आँखा मेरा गगन धरती चार चौरास दौडे,
कोही देख्ला वर पर भनी त्रासमा नै रहन्थे।

छोपी मेरा नयन रसिला हेर्न छाडेर सारा,
मात्रै मेरो मन कमलयो हेरिद्यौ है भन्यौ रे।
तान्यौ चुन्नी अमुक म बनी लाग्छु तिम्रो पछाडि,
जाँदै थ्यौं रे सलल सरिता माइ उँबो नछाडी।

काँ हो काँ त्यो झरर झरना झर्छ देखिन्छ छाँगो,
कस्तो राम्रो कलल धुनको गीत हो गुन्जिएको।
साह्रै सुन्दर अमर पुर त्यो स्वर्ग जस्तै सुनौलो,
भुल्याउँदै उस रमणमा प्रेम गर्छु भन्यौ रे। 

ओ जुन ! मेरो धर्तीमा आँखा नडुलाऊ

ओ जुन ! मेरो धर्तीमा आँखा नडुलाऊ !

ओ जुन
आकाशको डिलमा उभिएर
हरेक शुक्लपक्षका रातमा
किन टोलाउँछौ
मेरो धर्तीलाई हेरेर?
किन लोलाउँछन तिम्रा ईष्र्यालु नयनहरु
मेरो पाखा पखेराहरुलाई हेरेर ?
मात्र मेरो अनुमान हो
तिमीले आकासको कालो धर्तीमा टेकेर
मेरो जग्मगाउँदो धर्तीको मोहकतामा लठ्ठिएको देख्दा
यस्तो लाग्छ जुन,
तिम्रो धर्ती यति मुलायम छैन
तिम्रो धर्तीमा सगरमाथा छैन
तिम्रो धर्तीमा पाखा पखेराहरु छैनन्
तिम्रो धर्तीमा नदी नालाहरु छैनन
त्यसैले त
काँडा र चट्टानहरु विछ्याईएको
तिम्रो धर्तीले
रक्ताम्य पारेका तिम्रा
कुर्कुच्चालाई जाति पार्ने मलम मेरो धर्तीमा
सगरमाथाको चीसो पानी सिन्चित भिर र पाखाका माटोहरुमा
पलाएका जडीबुटीहरु देखेर
डाहा गरिरहेकी छौ मेरो धर्तीप्रति ।
यो मात्र मेरो अनुमान हो ।
हो जुन, यो अनुमान मात्र हो
तिम्रो आकाशको धर्तीमा
माया छैन
प्रेम छैन
आत्मियता छैन
सद्भाव छैन
एकता छैन
अनि तिम्रो अस्थिर ग्रहहरुको बस्तिमा
शुन्याताबाट प्रहारहुने
ग्रह र शिशुग्रहहरुको आक्रमणलाई रोक्न सक्ने योद्धाहरु छैनन
त्यसैले
आफ्नो धर्ती, र माटोको लागि
मौलिकता र स्वाभिमानको लागि
ज्यानको बाजी राखेर
देश बचाउन तत्पर नेपालीहरुको साहस र एकताले
आकर्षण गरेको छ
तिमीलाई
हो जुन,
म पनि हेर्थें तिम्रो कालो धर्ती यसरी नै
त्यो एउटा युग थियो
सुन्दर थियौ तिमी
चम्कन्थ्यौ ताराहरुका साथमा
मध्यरातमा
तिम्रो सुन्दरतामा दाँज्न मिल्ने बस्तु थिएन
तिम्रा दिव्यतासँग दाँज्न मिल्ने प्रकाश
तिमी ब्रम्हाण्डकी एक थियौ
तर यो आज हो
यो युग आजको हो
आज मेरो धर्ती
वैंशालु बनेको छ
तिम्रो सिङ्गै आकाशलाई उज्यालो पार्नेशक्ति
मेरो धर्तीका नशाहरुमा बगीरहेका छन््
त्यही शक्तिले चम्काइरहेकोछ मेरो धर्ती
त्यही शक्तिले अझ श्रृंगार्नेछ मेरो धर्ती
अनि
तिमी दोस्रो हुनेछौ सुन्दरतामा
सायद त्यही दोस्रो हुने डरमा
हर सम्भव
आफ्ना नशामा आकर्षण गरिरहेकाछौ
मेरो शक्तिपुञ्जलाई आफ्ना नशामा गाभ्न खोजिरहेका छौ ।
तर
के लान सक्छौ शरीरबाट नशाहरुलाई छुट्याएर?
होस गर ! मेरो धर्तीको नशाको बेग तिम्रो आकर्षण बल भन्दा
सयौं गुणा बढी छ ।
त्यो बेगले तिम्रो धरातल डुबाउन सक्छ
बगाउन सक्छ
ब्रम्हाण्डमा विलाईदिन सक्छ
त्यसैले
खबरदार जुन !
मेरो धर्तीमा आँखा नडुलाउ !

खगिन्द्रा खुसी-गजल


उठेर हेर मिर्मिरे उषा नयाँ प्रभातमा।
भरीरहेछ जिन्दगी हरेक पात पातमा।

सुनाउँदैछ चिर्विरे चरी मिठो छ भावना,
रचेर गीत सूरले उठेर वास वासमा।

अझै छ जिन्दगी यहाँ नमार जोस हौसला,
बनिन्छ देश पूर्ण यो समाउ हात हातमा।

फुटेर चर्चरी चिरा–चिरा छ देशको धरा,
पुरौँ मिलाउँ प्रेमले मिलेर साथ साथमा।

खगिन्द्रा खुशी शिखरिणी गजल

शिखरिणी गजल

नआओ पर्देशी घर दिन दिनै वन्द छ यहाँ।
सुगन्धी माटो मै अहह नमिठो गन्ध छ यहाँ।

थियो भाका यौटै सकल जनता जातहरुका,
सवै टुक्रा पारे सुर विसुरको छन्द छ यहाँ।

यि नेपाली आमा अनि शिखर उच्चा हिमगिरी,
बचाऊँ हे नेता तर किन ठुलो द्वन्द छ यहाँ।

र भोकै तिर्खै छन् गरिव जनता नै अझपनि,
अघाएका नेताभर सुख महानन्द छ यहाँ।







Tuesday, May 10, 2016

महिलाको सत्रु महिला होइन- खगिन्द्रा खुसी

धेरै लामो समयदेखि मनमा आइरहेको एउटा विषय । यो विषयलाई लेखको रूप दिउँ भनेर थुप्रै पटक कोसिस गरें तर म वरिपरिका धेरै यस्ता पुरुषहरु छन्, यस किसिमका लेखहरुले उनीहरुको आदर पूर्ण व्यवहारलाई अनादर गरिन्छ भन्ने सोचेर लेख्न सकिन । तर आज फेसबुक खोलेर हेर्ने वित्तिकै कृष्ण धरावासीले सेयर गरेको एउटा लेख देखें । “महिला हिंसा महिलाबाटै हुन्छ”सगरमाथाकी छोरी” शीर्षकमा लेखिएको लेखलाई खोलेर हेरें । कृष्ण धरावासीले केही समय अगाडि लेख्नु भएको लेख नपढे पनि उहाँको लेखको विषयमा लेखिएको टिप्पणी पढेकी थिएँ । त्यसैको आधारमा उहाँको लेखको आशय बुझेकी थिएँ । उहाँले उठाएको विषयमा म महिला भए पनि सहमत छु, सबै पुरुष शोषक छैनन, यो समाजमा धेरै पुरुष शोषित पनि छन्, जसले महिलाहरुलाई साँचो हृदयले सहयोग गर्छन् उनीहरुनै यो समाजको अपव्याख्याबाट पनि शोषित भइरहेको पनि बुझेकी छु, यस विषयलाई एउटा लेख या  कथामा समेट्ने इच्छा पनि छ । मैले देखेकी छु यो समाजमा महिलाका हितमा, महिलाका उत्थानका लागि काम गर्ने थुप्रै पुरुषहरु छन् । उहाँहरुको त्यो व्यवहार प्रति नतमस्तक छु । मलाई अति नारिवाद पनि मन पर्दैन, महिला र पुरुष दुवै अपरिहार्य तत्वहुन् । तर यी सगरमाथाकी छोरीले लेखेको लेखमा म एक रति पनि सहमत छुइन ।
म पनि यही नेपाली समाजकी छोरी हुँ । समाजका महिला र पुरुष दुवै सँग सँगत गर्दै हुर्किएकी छु, र धेर थोर यो समाजलाई पढेकी पनि छु । मेरो बुझाइ, पढाइ र भोगाइका आधारमा सामान्यतया महिलाका शत्रु महिला या पुरुष जो पनि हुन सक्छन् । व्यक्तिगत व्यवहार स्वभाव र नैतिकताका आधारमा महिला र पुरुष जोसुकै सँग पनि महिला या पुरुषको शत्रुता रहेको हुन्छ । तर मुख्य रुपमा महिलाको शत्रु पुरुष भन्दा पनि पुरुषहरुले महिला सँग शत्रुता पूर्ण व्यवहार गरिआएका छन् । घर व्यवहारको शत्रुता त सामान्य कुरा हो । कुनै समयमा शत्रुता जस्तो लाग्ने व्यवहार समयान्तरमा फेरि मित्रता बन्न पनि सक्छ तर घर वाहिरका सवालमा पुरुषको व्यवहार महिलाको हकमा कहिल्यै मित्रवत् देखेकी छैन मैले । आफ्नो पकडमा रहुन्जेली । आफुले भनेको मानुन्जेली सबै महिला पुरुष साथी, सहकर्मी, प्रशासक र अग्रजहरुका प्रिय हुन्छन्, असल हुन्छन् तर जव आफु आफ्नो विवेकले, आफ्नो हितका लागि काम गर्न थाल्छन् तव देखिन थाल्छ पुरुषहरुको असली व्यवहार । अपव्याख्या हुन थाल्छ, उसको पुरुष समाज भित्रै, फलानी यस्ती फलानी उस्ती, फलानो सँग ।।।।, फलानोले गर्दा । त्यति मात्र हैन उनीहरुले कसो गरेर आफुले भनेको आफ्नो वोलवाला चल्ने महिलाहरुका कानमा पु¥याउँछन् र गुदीकुरोलाई बुझ्न नसक्ने महिलाहरुले त्यसलाई चर्चामा पनि ल्याउँछन् अनि पुरुषहरु नै भन्छन् “किलकिले नभएका आइमाई १, कुरौटे आइमाइ १” तर पुरुष विद्वानहरुले खुलेआम गरेका यस्ता अपव्याख्याहरु चलाएको बुझ्न नसक्नु दुःखको कुरो हो । छिटै महिलाहरुमा यस्ता कुरा बुझ्ने वास्तविक ज्ञान प्राप्त होस् । 
केही पुरुषहरु महिला उत्थानका लागि काम गर्छन, महिलाले उठ्नु पर्छ, जाग्नु पर्छ भन्छन् । महिलाहरुलाई उठाउने क्रममा उनि हरु सफल पनि हुन्छन् तर जव महिला उठ्छन्, केही गर्नु पर्छ मैले भन्ने सोचेर अगाडि बढ्न थाल्छन् तव उनीहरुमा डाह हुन्छ क्यार, फेरि आफै खुट्टा तान्न थाल्छन् ,त्यसको आलोचना र अपव्याख्या गर्न थाल्छन् ।
स्वार्थ त सबै मानिसमा हुन्छ तर महिलाका लागि काम गर्दिने पुरुषहरुको स्वार्थले विशेष स्थान पाएको छ । पुरुषको स्वार्थ कति महिलाले बुझ्लान कतिले नबुझ्लान, तर महिलाले भन्दा पहिला पुरुषले नै बुझ्दछन् यस कुरालाई र त्यही पुरुष सँग जोडेर अर्को पुरुषले महिलाको खुलेआम अपव्याख्या गर्न थाल्छ । उसको अपव्याख्याले महिलाहरुको प्रगतिमा असर पुग्छ होला भन्ने सोच्दैनन् कुनै विद्वान्ले । यो बुझ्नु पर्ने कुरो हो महिलाहरुले ।
यो समाजमा वाहिर निस्किएर अगाडि बढ्न खोज्ने, प्रगति गर्न खोज्ने हरेक महिलाहरुले पुरुषको कुटिल व्यवहार सँग मुकाविला गर्नै पर्छ । त्यही मुकाविला गर्न नसक्ने कैयौं महिलाहरुले सामाजिक जीवन छोडेर नितान्त घर गृहस्थी जीवन निर्वाह गर्न बाध्य भएका छन् । थोरै मात्र यो समाजको पुरुषहरुका कुटिल चालसँग मुकाविला प्रगतिका पथमा उक्लिरहेका हुन्छन् उनीहरुलाई गर्वका साथ सलाम गर्छु म ।
फरक मान्छे भए पछि विचार पनि फरक हुन्छ, फरक विचार भएकाहरुको बिचमा मत मतान्तर हुनु स्वाभाविक हो । त्यो सौता सौताको बिचमा मात्र हैन, सासु बुहारीको बिचमा मात्र हैन, नन्द भाउजुका बिचमा मात्र हैन आमा छोरीका बिचमा पनि हुन्छ । हामी सासु र नन्द आमाजु मिलेर भाउजु र बुहारीलाई सताउने अथावा सताइने कुरा बुझिरहेका छौं । तर भाउजु बुहारी नभएको अवस्थामा तिनै आमाछोरी र दिदी वहिनीको बिचमा त्यो भन्दा ठुलो झगडा भइरहेको हुन्छ, मनमुटाव र मतमतान्तर भइरहेको हुन्छ ।
सौताको कुरामा पनि । श्रीमतीको रिस श्रीमान् सँगको हो । उसले आफु हुँदा हुँदै अर्की श्रीमती ल्याएको सहन सक्दिन, कारण उसको जीवन बाँच्ने आधार श्रीमान हो जीवनको सारा खुसी त्यही श्रीमानसँग जोडेर राखेकी हुन्छे, तर उसको भावनाको सम्मान नगरी श्रीमती हुँदा हुँदै अर्की श्रीमती ल्याउँछ श्रीमानले, त्यसवेला उसको रिस श्रीमान् सँगै हुन्छ, तर श्रीमानलाई आधार मान्नु पर्ने वाध्यताले गर्दा श्रीमानलाई गलत सम्झिन नसकेर त्यो रिस सौता माथि पोख्छन् । यस विषयमा त झन् महिलाको दोष कतै छँदै छैन । सौता नल्याएकी अवस्थामा पनि एउटी श्रीमतीले श्रीमानकै व्यवहारका कारण गाउँका केटी÷महिलाहरु सँग शत्रुवत् व्यवहार गर्नु परेको देखिन्छ । खुलेआम केटी जिस्क्याउने, श्रीमती ल्याउन स्वतन्त्रता दिएको यो समाजका पुरुषहरुलाई नै आधार मानेर जीवन विताउनु पर्ने कारणले समाजका महिला महिला माथि नै आक्रामक भइरहेका छन्, तर जव महिलाहरुले यी कुराहरु बुझ्छन् अनि महिला महिलाका बिचको शत्रुता भनिएको व्यवहार आफैं हटेर जानेछ ।