धेरै लामो समयदेखि मनमा आइरहेको एउटा विषय । यो विषयलाई लेखको रूप दिउँ भनेर थुप्रै पटक कोसिस गरें तर म वरिपरिका धेरै यस्ता पुरुषहरु छन्, यस किसिमका लेखहरुले उनीहरुको आदर पूर्ण व्यवहारलाई अनादर गरिन्छ भन्ने सोचेर लेख्न सकिन । तर आज फेसबुक खोलेर हेर्ने वित्तिकै कृष्ण धरावासीले सेयर गरेको एउटा लेख देखें । “महिला हिंसा महिलाबाटै हुन्छ”सगरमाथाकी छोरी” शीर्षकमा लेखिएको लेखलाई खोलेर हेरें । कृष्ण धरावासीले केही समय अगाडि लेख्नु भएको लेख नपढे पनि उहाँको लेखको विषयमा लेखिएको टिप्पणी पढेकी थिएँ । त्यसैको आधारमा उहाँको लेखको आशय बुझेकी थिएँ । उहाँले उठाएको विषयमा म महिला भए पनि सहमत छु, सबै पुरुष शोषक छैनन, यो समाजमा धेरै पुरुष शोषित पनि छन्, जसले महिलाहरुलाई साँचो हृदयले सहयोग गर्छन् उनीहरुनै यो समाजको अपव्याख्याबाट पनि शोषित भइरहेको पनि बुझेकी छु, यस विषयलाई एउटा लेख या कथामा समेट्ने इच्छा पनि छ । मैले देखेकी छु यो समाजमा महिलाका हितमा, महिलाका उत्थानका लागि काम गर्ने थुप्रै पुरुषहरु छन् । उहाँहरुको त्यो व्यवहार प्रति नतमस्तक छु । मलाई अति नारिवाद पनि मन पर्दैन, महिला र पुरुष दुवै अपरिहार्य तत्वहुन् । तर यी सगरमाथाकी छोरीले लेखेको लेखमा म एक रति पनि सहमत छुइन ।
म पनि यही नेपाली समाजकी छोरी हुँ । समाजका महिला र पुरुष दुवै सँग सँगत गर्दै हुर्किएकी छु, र धेर थोर यो समाजलाई पढेकी पनि छु । मेरो बुझाइ, पढाइ र भोगाइका आधारमा सामान्यतया महिलाका शत्रु महिला या पुरुष जो पनि हुन सक्छन् । व्यक्तिगत व्यवहार स्वभाव र नैतिकताका आधारमा महिला र पुरुष जोसुकै सँग पनि महिला या पुरुषको शत्रुता रहेको हुन्छ । तर मुख्य रुपमा महिलाको शत्रु पुरुष भन्दा पनि पुरुषहरुले महिला सँग शत्रुता पूर्ण व्यवहार गरिआएका छन् । घर व्यवहारको शत्रुता त सामान्य कुरा हो । कुनै समयमा शत्रुता जस्तो लाग्ने व्यवहार समयान्तरमा फेरि मित्रता बन्न पनि सक्छ तर घर वाहिरका सवालमा पुरुषको व्यवहार महिलाको हकमा कहिल्यै मित्रवत् देखेकी छैन मैले । आफ्नो पकडमा रहुन्जेली । आफुले भनेको मानुन्जेली सबै महिला पुरुष साथी, सहकर्मी, प्रशासक र अग्रजहरुका प्रिय हुन्छन्, असल हुन्छन् तर जव आफु आफ्नो विवेकले, आफ्नो हितका लागि काम गर्न थाल्छन् तव देखिन थाल्छ पुरुषहरुको असली व्यवहार । अपव्याख्या हुन थाल्छ, उसको पुरुष समाज भित्रै, फलानी यस्ती फलानी उस्ती, फलानो सँग ।।।।, फलानोले गर्दा । त्यति मात्र हैन उनीहरुले कसो गरेर आफुले भनेको आफ्नो वोलवाला चल्ने महिलाहरुका कानमा पु¥याउँछन् र गुदीकुरोलाई बुझ्न नसक्ने महिलाहरुले त्यसलाई चर्चामा पनि ल्याउँछन् अनि पुरुषहरु नै भन्छन् “किलकिले नभएका आइमाई १, कुरौटे आइमाइ १” तर पुरुष विद्वानहरुले खुलेआम गरेका यस्ता अपव्याख्याहरु चलाएको बुझ्न नसक्नु दुःखको कुरो हो । छिटै महिलाहरुमा यस्ता कुरा बुझ्ने वास्तविक ज्ञान प्राप्त होस् ।
केही पुरुषहरु महिला उत्थानका लागि काम गर्छन, महिलाले उठ्नु पर्छ, जाग्नु पर्छ भन्छन् । महिलाहरुलाई उठाउने क्रममा उनि हरु सफल पनि हुन्छन् तर जव महिला उठ्छन्, केही गर्नु पर्छ मैले भन्ने सोचेर अगाडि बढ्न थाल्छन् तव उनीहरुमा डाह हुन्छ क्यार, फेरि आफै खुट्टा तान्न थाल्छन् ,त्यसको आलोचना र अपव्याख्या गर्न थाल्छन् ।
स्वार्थ त सबै मानिसमा हुन्छ तर महिलाका लागि काम गर्दिने पुरुषहरुको स्वार्थले विशेष स्थान पाएको छ । पुरुषको स्वार्थ कति महिलाले बुझ्लान कतिले नबुझ्लान, तर महिलाले भन्दा पहिला पुरुषले नै बुझ्दछन् यस कुरालाई र त्यही पुरुष सँग जोडेर अर्को पुरुषले महिलाको खुलेआम अपव्याख्या गर्न थाल्छ । उसको अपव्याख्याले महिलाहरुको प्रगतिमा असर पुग्छ होला भन्ने सोच्दैनन् कुनै विद्वान्ले । यो बुझ्नु पर्ने कुरो हो महिलाहरुले ।
यो समाजमा वाहिर निस्किएर अगाडि बढ्न खोज्ने, प्रगति गर्न खोज्ने हरेक महिलाहरुले पुरुषको कुटिल व्यवहार सँग मुकाविला गर्नै पर्छ । त्यही मुकाविला गर्न नसक्ने कैयौं महिलाहरुले सामाजिक जीवन छोडेर नितान्त घर गृहस्थी जीवन निर्वाह गर्न बाध्य भएका छन् । थोरै मात्र यो समाजको पुरुषहरुका कुटिल चालसँग मुकाविला प्रगतिका पथमा उक्लिरहेका हुन्छन् उनीहरुलाई गर्वका साथ सलाम गर्छु म ।
फरक मान्छे भए पछि विचार पनि फरक हुन्छ, फरक विचार भएकाहरुको बिचमा मत मतान्तर हुनु स्वाभाविक हो । त्यो सौता सौताको बिचमा मात्र हैन, सासु बुहारीको बिचमा मात्र हैन, नन्द भाउजुका बिचमा मात्र हैन आमा छोरीका बिचमा पनि हुन्छ । हामी सासु र नन्द आमाजु मिलेर भाउजु र बुहारीलाई सताउने अथावा सताइने कुरा बुझिरहेका छौं । तर भाउजु बुहारी नभएको अवस्थामा तिनै आमाछोरी र दिदी वहिनीको बिचमा त्यो भन्दा ठुलो झगडा भइरहेको हुन्छ, मनमुटाव र मतमतान्तर भइरहेको हुन्छ ।
सौताको कुरामा पनि । श्रीमतीको रिस श्रीमान् सँगको हो । उसले आफु हुँदा हुँदै अर्की श्रीमती ल्याएको सहन सक्दिन, कारण उसको जीवन बाँच्ने आधार श्रीमान हो जीवनको सारा खुसी त्यही श्रीमानसँग जोडेर राखेकी हुन्छे, तर उसको भावनाको सम्मान नगरी श्रीमती हुँदा हुँदै अर्की श्रीमती ल्याउँछ श्रीमानले, त्यसवेला उसको रिस श्रीमान् सँगै हुन्छ, तर श्रीमानलाई आधार मान्नु पर्ने वाध्यताले गर्दा श्रीमानलाई गलत सम्झिन नसकेर त्यो रिस सौता माथि पोख्छन् । यस विषयमा त झन् महिलाको दोष कतै छँदै छैन । सौता नल्याएकी अवस्थामा पनि एउटी श्रीमतीले श्रीमानकै व्यवहारका कारण गाउँका केटी÷महिलाहरु सँग शत्रुवत् व्यवहार गर्नु परेको देखिन्छ । खुलेआम केटी जिस्क्याउने, श्रीमती ल्याउन स्वतन्त्रता दिएको यो समाजका पुरुषहरुलाई नै आधार मानेर जीवन विताउनु पर्ने कारणले समाजका महिला महिला माथि नै आक्रामक भइरहेका छन्, तर जव महिलाहरुले यी कुराहरु बुझ्छन् अनि महिला महिलाका बिचको शत्रुता भनिएको व्यवहार आफैं हटेर जानेछ ।
0 comments:
Post a Comment